काठमाडौँ । बिहीबारदेखि काठमाडौँमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको वर्तमान आर्थिक दृश्य सकारात्मक हुदैँ गएको बताएका छन् ।
प्रधानमन्त्रीले भने, ‘तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ। त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु। यसमा समेत यहाँहरूको सक्रिय सहभागिता, महत्त्वपूर्ण सुझाव र कार्यान्वयनमा जिम्मेवारीवोध एवं तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु ।’
मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताएका छन् । सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि दाहालले आग्रह गरेका छन् ।
जिम्मेवार व्यावसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छन्। जिम्मेवार अभ्यासहरु मार्फत् व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन् अध्यक्ष प्रचण्डको भनाइ छ ।
‘यहाँहरू सबैलाई अवगत नै छ– अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न , देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु। केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरू सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत् अन्तरक्रिया गरेको छु।
अन्तरक्रियापछि केही महत्त्वपूर्ण घोषणाहरूसमेत गरिएको छ। मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा मैले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको छु।
सरकारले यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरू अगाडि सारेको छ। तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्दछ’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले कार्यक्रममार्फत समाज, वातावरण र अर्थतन्त्र जस्ता जल्दो बल्दो विषयमा विश्वमा भइरहेका नवीनतम सुधार र प्रयासमा हुने वृहत् छलफल र अन्तरक्रियाबाट मुलुकले अवलम्बन गर्नुपर्ने आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने विश्वास राखेको बताएका छन् ।








